सिमकोट बजारमा अनुगमन म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट


काठमाडौँ- हुम्लाको सदरमुकाम सिमकोट बजारमा सोमबार बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा विभिन्न पसलहरूमा बिक्री भइरहेका मासु, दैनिक उपभोग्य सामग्री तथा पेयपदार्थको निरीक्षण गरिएको थियो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टका अनुसार अनुगमन टोलीले १५ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरेको छ।

बजार अनुगमनका क्रममा सडेका मासु, सीमा नाघेका उपभोग्य वस्तु तथा अखाद्य पेयपदार्थ भेटिएपछि तत्काल नष्ट गरिएको बताइएको छ। साथै, व्यवसायीहरूले उपभोक्तालाई बिल उपलब्ध नगराएको पाइएपछि उनीहरूलाई सचेत गराइएको विष्टले जानकारी दिए।

“यहाँका कतिपय व्यवसायीले मूल्यसूची नटाँस्ने, लेखापरीक्षण नगर्ने, करचुक्ता नभएको, तथा पुँजी कम देखाएर कारोबार गर्ने गरेको पाइयो,” विष्टले भने, “व्यवसाय सञ्चालनका लागि सबैलाई नियमानुसार निर्देशना दिएका छौँ, आगामी दिनमा पुनः अनुगमन गरी कडाइ गरिनेछ।”

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो।