लेबनानमा शान्ति मिसनमा खटिएका नेपाली उपरथी चोकबहादुर ढकाल घाइते, प्रदर्शनकारीले गाडी तोडफोड


काठमाडौं – संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्।

गएको राति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीहरूले तोडफोड गरेका थिए। त्यसक्रममा उनी घाइते भएका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

निर्देशनालयका अनुसार, “ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी र भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन्।” विज्ञप्तिमा भनिएको छ, “घटनापछि उनलाई तत्काल उद्धार गरी यूएनको लेवल थ्री अस्पताल बेरुत पुर्‍याइएको थियो।”

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, अस्पतालले अहिले उपरथी ढकालको अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ।

मिशन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न कार्यरत शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

संयुक्त राष्ट्र संघले शान्ति सैनिकमाथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरेको छ।

लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले घटनाको भर्त्सना गर्दै तत्काल अनुसन्धान गरी संलग्न व्यक्तिहरू र समूहलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

यस विरोध प्रदर्शनको कारण इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी निर्णयविरुद्ध विरोध भइरहेको छ, र विमानस्थल जाने मार्ग तथा राजधानी र अन्य सडकहरू अबरुद्ध पारिएका छन्।