काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थापित वासुदेव उपाध्यायको अर्धकदको शालिक हटाउने विषयमा तीव्र बहस सुरु भएको छ । स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक राख्दा त्यसले दीर्घकालीन असर पर्ने र गलत इतिहास कायम हुने भन्दै तत्काल छलफलका माध्यमबाट हटाउन बहस सुरु भएको हो ।
राजनीतिक शक्तिको आड र पैसाको खेलमा व्यवसायी नवराज आचार्यले आफ्नो हजुरबुबाको शालिक जबर्जस्ती राखेको विषय अहिले विवादमा परेको छ । यस विषयमा देशका प्रतिष्ठित मिडियामा समाचार आएपछि आचार्य पक्ष तिल्मिलाएको छ । आफ्नो कामलाई वैधता दिन भन्दै उनले हरिवन, बरहथवाबाट केही पेड पत्रकारलाई बोकेर हजरियाका प्रबुद्ध वर्ग र बुद्धिजीवीसँग कुराकानी गरी त्यसलाई तोडमोड गरी आफ्नो ढंगले प्रकाशन र प्रसारण गर्न लगाएका छन् ।
यसैक्रममा हरिवनबाट प्र्रकाशित हुने अनलाइनमा आफूले बोल्दै नबोलेका कुरालाई तोठमोड गरी जबर्जस्ती ढंगले गलत कुरालाई स्थापित गर्न खोजिएको भन्दै विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष एवं राजनीतिज्ञ नेत्र काफ्लेले आपत्ति जनाएका छन् । शनिबार भाइरल पोस्टमा प्रकाशित समाचारमा काफ्ले शालिक राख्नुपर्छ भन्ने पक्षमा रहेको उल्लेख थियो । सो समाचार सामाजिक सञ्जालमा नवराज आचार्यले सेयर गरेका थिए । समाचारप्रति काफ्लेले कमेन्ट गर्दै लामो स्टाटस लेखेका छन् । जसमा शालिक किन राख्ने, कसरी राखियो र अब के गर्नुपर्छ भन्ने स्पष्ट पारिएको छ ।
समाजसेवी काफ्लेले लेखेका छन्–
चैत ६ गते भाइ नवराज आचार्यसहित कोही चिनेका र कोही नचिनेका केही युवाहरु मेरो घरमा आए । त्यसमध्ये पत्रकार पनि रहेछन् र पत्रकारले शालिक स्थापनाको विषयमा के भन्नुहुन्छ भनेर प्रश्न गरे । मैले भनें– विद्यालय जस्तो ठाउँमा शालिक स्थापना गर्नुपरेमा विगतमा विद्यालय स्थापना गर्न सबैभन्दा बढी कसको योगदान रहेको छ, त्यस्ता योगदानकर्ताको शालिक, त्यो पनि सर्वपक्षीय सहमतिमा राख्न सकिने हुनसक्छ । किनभने, शालिक स्थापना गर्ने भनेको ऐतिहासिक महत्व र गरिमाको विषय हो । शालिक स्थापनाको कुराले योगदानकर्ताको कदर गर्दै दीर्घकालीन रूपमा इतिहास निर्माण गर्ने कुरा हो । त्यसकारण यस विषयलाई हल्का ढंगले लिनु हुँदैन भनियो । मलाई फेरि प्रश्न गरियो– वर्तमान अध्यक्षले त सहमतिमै शालिक राखेको भन्नुभएको छ त ?
मैले भने– फागुन २८ गते बसेको समितिको बैठकले शालिक स्थानान्तरण गर्ने निर्णय भएको छ अरे त भन्दा, त्यसो भए शालिक लगेर नवराजको घरमा राख्ने त भनेर प्रश्न गरियो । मैले भने– विगतमा काम गर्ने क्रममा कसैबाट कमीकमजोरी वा त्रुटि भएमा त्यसलाई सच्याउनुपर्छ कि पर्दैन भनेर प्रतिप्रश्न गरें । फेरि प्रश्न गरियो– नवराज आचार्यबारे के भन्नुहुन्छ ? मैले भने नवराज आचार्यले राम्रो आर्थिक उन्नति गरेर आफु पढेको विद्यालयमा सरस्वतीको मूर्ति स्थापना गरी हजुरबुवाको स्मृतिमा स्थापना गरेको भनेर स्वर्ण अक्षरमा लेख्नु जायज हो र त्यसका लागि उनी धन्यवादका पात्र भएका छन् । जहाँसम्म शालिक स्थापनाको कुरा छ, यसमा उनलाई आश्वासन दिएर सहयोग लिने काम भएकोमा यसमा उनको कुनै गल्ती छैन भनेर मैले भनेको कुरालाई, फलानाले पूर्वसहमतिअनुसार शालिक स्थापना गरेर नवराज आचार्यले कुनै गल्ती नगरेको भन्यो भनेर उल्लेख भई आएकाले मेरो स्पष्ट धारणाप्रति भ्रम सिर्जना भएको देखिन आएकाले मैले बोलेको भिडियो जस्ताको तस्तै आओस् भन्ने अपेक्षा राख्दछु । साथै, यो विवादको सौहार्दपूर्ण वातावरणमा आपसी समझदारीले उचित समाधान खोजियोस् भन्न चाहन्छु ।
आफूले गरेको गलत काम र निर्णयको चौतर्फी आलोचना भएपछि अहिले आचार्य पक्ष तनावमा परेको छ । विस्तारै शालिक स्कुल हाताबाट हटाउनुपर्छ भन्ने पक्षमा माहोल बन्दै गएको छ । अहिलेसम्म सामान्य ढंगले सुझाव र सल्लाह मात्र दिइएको तर ज्यादै अटेर गरेमा कानुनी बाटो अवलम्बन गर्नुपर्ने पक्षमा आमहजरियावासीको मत छ ।
प्रतिक्रिया