के ‘कर्णाली याक्स’ क्रिकेट क्लब बिक्रीमा हो, के भन्छन् मालिक गृहेन्द्र ?


काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा एकाएक नेपाल प्रिमियर लिग (एनपिएल) क्लब कर्णाली याक्समा नयाँ मालिक भित्रिएको खबर सनसनी फैलियो । खेलकुदसँग सम्बन्धित र क्लबका समर्थकहरूलाई नयाँ मालिक पाएको भन्दै बधाई दिनेको लहर नै चल्यो । तर त्यो खबर पूर्णतयाः झुटो भएको पुष्टि भएको छ ।

क्लबले टिम बिक्रीमा नभएको प्रष्ट पारेको छ । कर्णाली याक्समा नयाँ सञ्चालक भित्रिएको खबर फैलिएसँगै बुधबार क्लबका मालिक गृहेन्द्र घिमिरेले यसबारे प्रस्ट पारेको हुन् ।

‘भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन । तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौं,’ घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्णाली याक्सका सम्पूर्ण शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दछौं ।’
कर्णाली याक्सले कर्णालीबासीको भावनासँग खेलिएको पनि जिकिर गरेको छ । ‘हाम्रो टिमबारे बिना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ,’ घिमिरेले भनेका छन् ।

एनपिएलको पहिलो संस्करण जनकपुरले जित्दा कर्णाली प्लेअफ खेलेको थियो । सोमपाल कामी मार्की रहेको टिममा पूर्व विश्व च्याम्पियन भारतीय चर्चित खेलाडी शिखर धवनसमेत खेलेका थिए । ‘पहिलो संस्करणमा हाम्रो परिणाम अपेक्षाभन्दा राम्रो रह्यो । समर्थकहरूको साथले दोस्रो संस्करणमा झन् बलियो रूपमा उपस्थित हुन प्रेरित गरेको छ । कर्णाली याक्सले एक प्रदेशको प्रतिनिधित्व गर्ने क्रममा भारतीय राष्ट्रिय टोलीका विश्व च्याम्पियन ओपनर शिखर धवनलाई अनुबन्ध गर्दै केवल नेपाली क्रिकेटमा मात्र योगदान गरेन, देशको खेल पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण प्रभाव पा¥यो। धवनजस्ता खेलाडीलाई नेपाल ल्याउनु हाम्रो लागि गर्वको विषय रह्यो,’ घिमिरेले भनेका छन् । कर्णाली याक्स उच्च ब्रान्ड भ्यालु भएको नेपाली क्रिकेट टिम हो ।