राप्रपाको जनसभामा अपेक्षित मान्छे नआएकै हुन् ?


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापनाको माग गर्दै मंगलबार बल्खुमा गरेको जनसभामा अपेक्षित मान्छे नआएको भन्दै विभिन्न टीकाटिप्पणी हुन थालेको छ । त्यसमा पनि बल्खुको जनसभाको ड्रोन भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि राप्रपाले आक्रोश व्यक्त गरेको छ ।

चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा हिंसा भड्काएको भन्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । मिश्र र राणासहित २० जनालाई काठमाडौं जिल्ला अदालतले मंगलबार थप १५ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूमाथि संगठित अपराध र राज्यविरूद्धको कसुरमा अनुसंधान भइरहेको छ। राप्रपाले आफ्ना नेतालाई अविलम्ब रिहा गर्न र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने भन्दै मंगलबार काठमाडौंमा विशाल प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर जनसभामा अपेक्षित मानिस आइदिएनन् ।

राप्रपाले आयोजना गरेको प्रदर्शनभन्दा शिक्षकहरूको आन्दोलनकै भिड ठूलो भएको भन्दै टिप्पणी हुन थालेको छ । राप्रपाले मंगलबार १०–१२ हजार मानिस सडकमा उतार्ने अनुमान सुरक्षा निकायको पनि थियो । सोहीअनुसार बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको पनि थियो । तर बल्खुमा पाँच सात हजार पनि मानिस नआएपछि सुरक्षाकर्मी कटौती गरिएको थियो ।

राप्रपाले भने जनसभा सुरु हुनुअघिको ड्रोन भिडियो हालेर कमजोर प्रदर्शन भएको भन्ने योजनाबद्ध प्रचार गरेको आरोप लगाएको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भनेका छन्, ‘कार्यक्रम सुरु हुनुअघिको ड्रोन भिडियो लिएर कमजोर प्रदर्शन भएको भन्ने योजनाबद्ध दुष्प्रचार गर्न चैत १५ गते कार्यक्रम सुरु हुनुअघि मञ्चमा ताकेर अश्रुग्यास प्रहार गर्नुजत्तिकै अनुचित कार्य हो ।’

राप्रपाले मंगलबारको प्रदर्शन भव्य बनाउन ठूलो शक्ति लगाएको थियो । तर जुलुसपछिको जनसभा पनि अपेक्षा गरेअनुसारको भएन । त्यसमा पनि राप्रपाका शीर्ष नेताको बेतुकका भाषणले मान्छेहरू बीचमै उठेर हिँडेका थिए । अहिले राप्रपाको भन्दा त दुर्गा प्रसाईले चैत १५ गते तीनकुनेमा निकालेको जुलुस नै ठूलो भएको टीकाटिप्पणी हुन थालेको छ ।