काठमाडौँ – नेपाल बार एसोसिएसनको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा कांग्रेस– एमाले निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले क्लिनस्विप गरेको हो ।
अध्यक्षमा विजयप्रसाद मिश्रले प्रतिद्वन्द्वी माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । मिश्रले पाँच हजार ५२ र श्रेष्ठले २६ सय २२ मत पाए । महासचिवमा पनि मिश्र प्यानलकै केदारप्रसाद कोइरालाले यज्ञमणि न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन् । महासचिवमा कोइरालाले ४८ सय ७४ र न्यौपानेले २३ सय ६७ मत पाएका छन् ।
न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी निकट अधिवक्ता हुन् । मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भए ।
शनिबार सम्पन्न निर्वाचनमा सात हजार ९९५ मत खसेको थियो । कार्यसमितिका २५ पदाधिकारी नै मिश्र प्यानलका निर्वाचित भएका छन् । कांग्रेस र एमालेले १२–१२ र एकजना राप्रपा निकट कानुन व्यवसायी निर्वाचित भएका छन् ।
प्रतिक्रिया