काठमाडौं – चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो भने २४ घन्टाभित्रै आफू आउने बताए। ‘पुलिसले खोज्न पर्दैन ।
म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने हो भने म २४ घन्टाभित्र आउँछु,’ प्रसाईंले भनेका छन्, ‘मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।’ यसअघि चैत १७ गते पनि प्रसाईंले भिडियो सार्वजनिक गर्दै आफू काठमाडौंको कुनै एउटा मन्दिरमा रहेको बताएका थिए । तर उनी चढेको स्कोर्पियो भने इटहरीबाट प्रहरीले बरामद गरेको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा राजसंस्था फर्काउने आन्दोलनको कमाण्डर तोकिएका मेडिकल माफिया प्रसाई चैत १५ गते तीनकुनेमा बवण्डर मच्चाएर बेपत्ता छन् । करोडौंको धनमाल खरानी बनाउनुका साथै दुई निहत्था नागरिकको ज्यान जानेगरी हिँसा भड्काएर भागेका उनी हाल भारतमा रहेको आशंका गरिएको छ ।
सडकमा तैनाथ प्रहरीलाई किच्नेगरी प्रसाईंले निषेधित क्षेत्रमा गाडी हुइँक्याएपछि हौसिएका प्रदर्शनकारी एकाएक तोडफोड र आगजनीमा उत्रिएका थिए । झ्यालबाट मुन्टो निकालेर आऊ आऊ भन्दै उनले गाडी कुदाएपछि हिँसा भड्किएकाले प्रहरीले यस प्रकरणको मुख्य दोषी उनलाई नै मानेको छ ।
जहिले फेला परे पनि अब प्रसाईविरुद्ध राज्य अपराधविरुद्धको कसुर र ज्यान मार्ने उद्योगमा मुद्दा चल्ने निश्चित छ । सोही कारण उनी फरार भएका हुन् । माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईं किन यतिसम्म संवेदनाहीन, विवेकहीन र अराजक बने ? फिल्डबाटै फरार उनलाई दुई हप्तासम्म समात्न नसकेको सुरक्षा निकायले यसबारे गम्भीर अध्ययन र विश्लेषण गरिरहेको जनाएको छ । खासगरी निर्मल निवासले संरक्षण गरेकाले पनि उनी अहिलेसम्म फरार भएको चर्चा छ ।
चैत १४ गते बिहान ११ बजे निर्मल निवास छिरेका प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहसँग डेढ घण्टा कुरा गरेर साढे १२ बजे बाहिरिएका थिए । त्यसलगत्तै उनलाई जनकमाण्डर तोकिएको थियो । प्रसाईं बाहिरिएलगत्तै राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायत निर्मल निवास गएका थिए ।
चैत १५ गते बिहान पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह गाडीमा पैसा राखेर प्रसाई भेट्न पुगेको प्रहरीले पत्ता लगाएको छ । त्यसैले पनि अन्य राजावादी व्यक्ति, राप्रपा र राप्रपाका नेताहरूलाई प्रसाईले गन्दै नगनेको बुझिएको छ । पूर्वराजाका ज्वाइँ राजबहादुर सिंह अहिले भरत महर्जन बेलायत फरार भएपछि उनकै सुमेरु सहकारी किनेर चलाउन व्यस्त छन् ।
प्रतिक्रिया