कुवेत चार देशीय टी–२० च्याम्पियन, नेपाल उपविजेतामै सीमित


काठमाडौं। नेपाललाई तीन रनले हराउँदै कुवेत चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला च्याम्पियन बनेको छ । टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले सबै विकेट गुमाउँदै १९.३ ओभरमा मात्र १७१ रन बनाउन सक्यो । नेपालको लागि बसिर अहमदले सर्वाधिक ८० रन बनाए । नन्दन यादवले ३७ रन बनाए पनि अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन्।

अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा नेपालले मात्र आठ रन मात्रै बनायो । कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६ र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए । प्रतियोगितामा अपराजित रहेको नेपाल पाँच अंकसहित फाइनलमा पुगेको हो । नेपालले २ खेल जितेको थियो । आयोजक हङकङसँगको खेल वर्षाका कारण रद्द भयो । नेपाल फाइनलमा भने पराजित भयो ।