काठमाडौं – शिक्षकपछि निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिने भएका छन् । संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
१० बुँदे माग राखेका कर्मचारीले माग पूरा नभए संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विगतमा पेस गरिएका ८५ बुँदे माग, २०७८ माघ १२ गते सर्वोच्च अदालतको निर्देशनात्मक आदेश जारी गरी संघीय निजामती सेवा ऐन जारी गर्न भएको फैसला र राष्ट्रियस्तरका ट्रेड युनियनसँग २०८० असोज २७ गते भएको सम्झौतामा भएका मागहरूलाई संश्लेषण गरी ऐन जारी गर्न उनीहरुको माग छ ।
‘देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनका लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानूनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको छ ।
राज्यको प्रत्यक्ष उपस्थिति जनाउने सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रूपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय हो,’ विभिन्न ६ ट्रेड युनियन कर्मचारी संघ–संगठनले निकालेको विज्ञप्तिमा भनिएको छ ।
आफूहरुको मागहरूप्रति सरकार उदासीन भई सुनुवाइ नगरेमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आन्दोलनमा सत्तारुढ कांग्रेस, एमालेका साथै माओवादी, एकीकृत समाजवादी, राप्रपा, मधेसी कर्मचारी युनियन पनि सहभागी हुने भएका छन् ।
१२ दिनदेखिको शिक्षक आन्दोलनले राजधानीको यातायात सञ्चालनमा समस्या उत्पन्न भइरहेका बेला निजामती कर्मचारी आन्दोलित भए काठमाडौंको यातायात सञ्चालन ठप्प हुने अवस्था आउने छ ।


प्रतिक्रिया