चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ऐतिहासिक नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ भएको छ ।

नगरकोटको बतासेडाँडामा एक भब्य समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले स्वामीको बिरुवामा पानी राखेर भ्रमण वर्षको औपचारिक रुपमा समुद्घाटन गर्नुभयो ।
सो अवसरमा वर्षभरि समेटिएको भ्रमण वर्ष पुस्तिका समेत विमोचन गरिएको थियो । यसअघि राष्ट्रपति पौडेलले शान्तिडाँडामा चाँगुनारायण नगरपालिकाद्धारा नवनिर्मित स्वागत स्तम्भको अनावरण गर्नु भएको थियो

सो अवसरमा स्वागत गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले नगरकाटको मात्रै नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने बताउनुभयो ।
उहाँले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा समेत जोड दिनुभयो ।केही समयअघि नगरकोट प्रमुख पर्यटकीय गन्तव्य भए पनि पूर्वाधार साथै अन्य अभावका कारण ओझेलमा पर्दै गएकै कारण नगरकोटलाई पहिलेकै अवस्थामा पर्यटकको चहलपहल बढाउन आफ्नो नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि बसेको नगरपालिकाको पहिलो बैठकबाटै भ्रमण वर्ष मनाउने निर्णय गरिएको र पछि अन्य पालिकासँग सहकार्य गरेर सामूहिक रुपमा मनाइएको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले चारै पालिका मिलेर आआफ्नो क्षेत्रबाट पर्यटन प्रबद्र्धनका लागि भ्रमण वर्ष आयोजना गरिनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले स्थानीय चार पालिकाले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शुरु भएको भ्रमण वर्ष २०८२ लाई प्रदेश र संघ सरकारको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषीत गर्न आवश्यक पूर्वाधारको निर्माण गर्दै लैजानुपर्नेमा जोड दिनुहुँदै पुरातात्विक, ऐतिहासिक हिसावले नगरकोटलाई केन्द्रमा राखेर पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
साँंस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता आँैल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटकीय क्षेत्र नगरकोटको पूर्वाधार विकास तथा विस्तारमा संघीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नगरकोटले पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको भन्दै पर्यटन मन्त्री पाण्डेले निजी क्षेत्रलाई निर्धक्क भएर पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले चारै वटा नगरपालिका मिलेर संयुक्त रुपमा नगरकोटको पर्यटन प्रबद्र्धनमा लागेकोमा खुसी ब्यक्त गर्नुहुँदै प्रदेश सरकारको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । स्थानीय सरकारसँग हातेमालो गरेर नगरकोटलाई माथि उठाउन प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।
प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले नगरकोट क्षेत्रलाई ओझेलमा पार्ने कार्य भइरहेको अवस्थामा चार नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गर्नु सराहनीय र स्वागतयोग्य काम भएको बताउनुभयो ।
कार्यक्रम आयोजनक समितिका संयोजक तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा बनेपाका नगर प्रमुख शान्ति रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम नगरकोट भ्रमण वर्षका फोर्कल पर्सन डा. घनश्याम खतिवडाले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा नगरकोट चिनाउने विभिन्न साँस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो भने सय भन्दा बढी फुड स्टल, कृषि सामग्रीका प्रदर्शनी, गुरुङ समुदायको संग्राहलय प्रदर्शन गरिएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भएको भ्रमण वर्ष नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्य रहेको छ । साथै नगरकोटलाई औपचारिक पर्यटकीय क्षेत्र घोषणा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लक्ष्य समेत राखिएको छ ।
बैशाख २ गते अर्थात दोस्रो दिन चर्चित लोक दोहोरी साँस्कृतिक समूह इन्द्रेणीले आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बैशाख ३ गते प्रसिद्ध गायक प्रकाश सपुतसहितको स्थानीय कलाकारहरुले साँगीतीक प्रस्तुति रहेको छ ।
वर्षभरि मनाईने नगरकोट भ्रमण वर्ष अवधिभर १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै, चाँगुनारायण नगरपालिका वडा नंं २ को आयोजनामा दुवाकोटमा चारै नगरपालिकाका नगर प्रमुखहरुको सहभागितामा प्रभातफेरि कार्यक्रम समेत गरिएको थियो ।
प्रतिक्रिया