काठमाडौं – शिक्षक आन्दोलन नरोकिए नयाँ शैक्षिक–सत्रको पठनपाठनका साथै एसइईको उत्तरपुस्तिका परीक्षण नै प्रभावित हुने भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आफैं सक्रिय भएका छन् । शिक्षकहरूको मागबारे छलफल गरी आन्दोलन रोक्न थापा र शर्माले पहलकदमी थालेका हुन् ।
मंगलबार बिहान कांग्रेस पार्टी कार्यालयमा दुवै महामन्त्रीले आन्दोलनरत शिक्षकका अगुवासँग छलफल गरेका छन् । शिक्षा ऐन माग्दै १३ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकले नयाँ वर्षको स्वागत पनि सडकबाटै गरे । अन्य दिनभन्दा सोमबार झन् ठूलो संख्यामा शिक्षकहरू भेला भएर माइतीघर, बबरमहल हुँदै बानेश्वरसम्म र्याली निकाले ।
आइतबार शिक्षक महासंघले बैठकबाटै निर्णय गरेर भएभरका शिक्षकलाई काठमाडौं आउन अपिल गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा स्थायी, राहत, निजी स्रोत, बालविकासलगायत शिक्षक र कर्मचारी गरी दुई लाख ३४ हजार १७६ जना छन् । शिक्षकहरूले यसअघि सरकारले गरेको सहमति कार्यान्वयनसहित तत्काल ऐन ल्याउन माग गरेका छन् ।
शिक्षा ऐन हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै चरणमा छ । तर, अहिले संसद् अधिवेशन चालू नभएकाले कसरी अघि बढ्ने भनेर कांग्रेस महामन्त्री थापा र शर्माले शिक्षकका अगुवासँग कुराकानी गरेका हुन् ।
यस वर्ष सरकारले एसइईको परीक्षाफल ७ असारमा निकाल्ने घोषणा यसअघि नै गरिसकेको छ । तर, शिक्षकहरूले मंगलबारदेखि उत्तरपुस्तिका परीक्षण गरेनन् भने ७ असारमा रिजल्ट निकाल्न समस्या हुन सक्छ । साथै, नयाँ शैक्षिक भर्नादेखि वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासमेत प्रभावित हुने भएको छ ।
प्रतिक्रिया