सरकारलाई अब हामीले ‘रामराम’ भन्नेमात्रै होः गगन थापा


काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले काम गर्न नसक्दा शिक्षक, सहकारी पीडितलगायत सडकमा आउने वातावरण बनेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने कतिपय काम गरेको बताएको हुन् । यस्तो अवस्थामा आफूहरुले सरकारलाई राम–राम भन्ने बाहेक अर्को केही गर्न नसकिने अवस्था आएको उनले बताए ।

‘कोही पनि मानिसहरु सडकमा आउनुपर्ने अवस्था आउँदैन थियो । सरकारले कतिपय निर्णयहरु गर्नुपर्ने आवश्यकता नै थिएन । चलाउँदै नचलानउनुपर्ने कर्मचारी कतिपय ठाउँमा अनावश्यक रुपमा मानिसहरुलाई सडकमा आउनुपर्ने अवस्था बनाइदिएको छ । यो कुराले कस्तो भइदिएको छ भने– हामीले राम राम भन्ने हो । गर्ने के हो त अब ?’ प्रश्न गर्दै उनले भने ।

महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ट्याक्टरको गतिमा कुचकुच कुचकुच गरेर हिँडिरहेको टिप्पणी गरे । सरकारले गति नै पक्रिन नसकेको र मानिसहरको अपेक्षालाई बुझ्नै नसकेको उनको दाबी छ ।

‘सुरुको चरणमा गए जोतिएर काम गरेको पनि हो । एकदम उत्साहको साथ धेरै कुरा बदल्न सकिन्छ भनेर लागेको पनि हो । विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सी एउटा । माहोल बनाउनुपर्ने छ, यहाँ राम्रो भएको छ भनेर माहोल बनाउनुपर्ने छ । सरकार ट्याक्टरको स्पिडमा छ । कुचकुच कुचकुच गरेर चलिरहेको छ । मानिसहरुको अपेक्षाको जुन गति छ, खासगरी तन्नेरीहरुले आजको परिवर्तन यसरी होस् भन्ने चाहेका छन्, त्यो गति नै यसले पक्रिन सकेन,’– उनले भने ।