हजुरबुबाको शालिक राख्न दिए सरस्वती माविमा शिक्षकको तलब आफैंले दिने आचार्यको प्रलोभन


काठमाडौं – व्यवसायी नवराज आचार्यले आफ्नो हजुरबुवाको शालिक राख्न दिए बापत सरस्वती माविलाई आर्थिक सहयोग गर्ने प्रलोभन दिएका छन् । शालिक राखेपछि चौतर्फी रूपमा आलोचना खेप्दै आएका आचार्यले सरस्वती माविमा अंग्रेजी माध्यमबाट पठनपाठन भएमा आफ्नो निजी स्रोतबाट व्यवस्था गरी शिक्षकको मासिक तलब बेहोर्ने प्रलोभनसहितको प्रस्ताव गरेका छन् ।

‘उपरोक्त सम्बन्धमा आफैले अध्ययन गरेको नेपाली माध्यमले पढाइ भइरहेको विद्यालयमा अंग्रेजी माध्यममा पढाउनुपर्ने हालको आवश्यकता भएको हुँदा विद्यालयमा दक्ष जनशक्ति (शिक्षक) को अभाव रहेको अवस्थामा शैक्षिक स्तर उठाउन अंग्रेजी माध्यमबाट पठनपाठन गराई बालबालिकाको उज्वल भविष्य निर्माणका लागि आवश्यक शिक्षक मेरो आफ्नो निजी स्रोतबाट व्यवस्था गरी शिक्षकको मासिक तलब म आफैले भुक्तानी गरी विद्यालयलाई सहयोग गर्ने प्रस्ताव गर्दछु,’ चैत ३१ गते विद्यालयलाई आचार्यले गरेको इमेलमा उल्लेख छ ।

अब कुनै पनि हालतमा स्कुल परिसरमा राखिएको शालिक हट्ने निष्कर्षमा पुगेकाले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई आचार्यले नयाँ प्रलोभन देखाएको प्रस्ट देखिन्छ । आचार्यले स्कुललाई जति पनि आर्थिक सहयोग गर्न सक्छन् । त्यो उनको व्यक्तिगत विषय र इच्छा हो । तर त्यसकै बदलामा हजुरबुवाको शालिक राख्न देऊ भन्न मिल्दैन ।

सरकारी जग्गामा व्यक्तिको शालिक राख्न दिएमा स्कुल पदाधिकारीले अख्तियार दुरुपयोग गरेको ठहर हुन्छ । यो विषयमा भोलि अख्तियारमा उजुरी पर्ने निश्चित छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर खड्काले पनि आचार्यले आर्थिक सहयोग गर्ने आश्वासनसहित पत्र पठाएको आफूले पनि जानकारी पाएको बताए ।

खड्का पारिवारिक काम विशेषले अहिले काठमाडौंमा छन् । उनले शालिक राख्न आफूले कुनै दबाब नदिएको बताउँदै आएका छन् । सरस्वतीमा मावि स्थापना वा हजरियाको शैक्षिक उन्ननयनमा कुनै योगदान नभएका उपाध्यायको शालिक स्कुल परिसरबाट हटाउन दबाब बढ्दै गएको छ । आचार्य आफैं पनि सोही स्कुलका प्रोडक्ट हुन् ।

सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेलगत्तै उच्च अध्ययनका लागि काठमाडौं पुगेका उनी छोटो समयमै करोडपति बन्न सफल भए । उनको रहस्यमय व्यवसाय र आर्थिक उन्नतिबारे धेरैजना अनभिज्ञ छन् ।

विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका आचार्यले आफ्नो पेसा अधिवक्ता भएको खुलाएका छन् । पछिल्लो समय आर्थिक स्रोत देखाउनु नपर्ने भएकाले एलएलबी बढेर अधिवक्ताको लाइसेन्स लिने प्रवृत्ति बढ्दै गएको छ । आचार्यले पनि सोही प्रयोजनका लागि कानुन अध्ययन गरेको उनी निकट व्यक्तिहरू बताउँछन् ।