काठमाडौं – विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोपमा सभापति रवि लामिछाने प्रहरी थुनामा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी थला पर्दै गएको छ । एक से एक नेताहरू भए पनि पार्टीले गति समाउन सकेको देखिन्न । झन् त्यसमाथि निलम्बित महामन्त्री मुकुल ढकालको निरन्तरको रवि लामिछानेमाथिको प्रहारले यसका समर्थक र कार्यकर्तामा निराशा थप्दै लगेको छ ।
ढकालले रास्वपालाई रविको क्लबको रूपमा चलाउन आफूमाथि अनुशासनको डण्ड बर्साएर कारबाही गरेको आरोप लगाएका छन् । त्यसैले उनी आजका दिनसम्म पनि रविको विरोध गर्दै सामाजिक सञ्जालमा लामा लामा स्टाटस लेख्ने र मिडियामा रविविरुद्ध कडा अभिव्यक्ति दिने गरेका छन् । आफूलाई पार्टीबाट निकालेको रिस उनले दिनहुँजसो सामाजिक सञ्जालमार्फत पोखिरहेका छन् । सोमबार पनि मुकुलले रविलाई टोले गुण्डाको संज्ञा दिएका छन् । उनले रवि जेल आउनेजाने गरिरहने ‘पटके’ भइसकेको पनि बताएका छन् ।
रविको मुद्दाको फैसला, आदेशलगायत १८–२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि ढकालले जेलबाट आउजाउ भइराखे भने अचम्म नमान्दा हुने पनि दाबी गरेका छन् । ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८–२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आउजाउ भइराखे भने अचम्म नमान्दा हुन्छ।
तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जानेआउने गरिरहेका हुन्छन्। यसरी पटकपटक जेल जाने आउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ। रवि दाइ पनि ‘पटके’ भइसके,’ ढकालले भनेका छन् ।
रविको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि हुने जिकिर उनको छ। उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ, न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै रवि आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने भनाइ राखे ।
रविको यो पटके अवस्थाका कारण अन्तिममा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको कांग्र्रेस, एमाले, माओवादीले नै जित्ने ढकालले उल्लेख गरेका छन् । एकातिर संस्थापक महामन्त्री ढकालको रविमाथि प्रहार जारी रहँदा अहिले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा प्रकरणले रास्वपामा अर्को तनाव थपिएको छ ।
रवि दोस्रोपटक पार्टी सभापतिको जिम्मेवारीमा फर्किएलगत्तै पदबाट राजीनामा दिएकी सुमनाले दुई सातापछि किन राजीनामा पत्र सार्वजनिक भयो भन्दै असन्तुष्टि व्यक्त गर्न थालेकी छन् । पार्टी सभापति रवि लामिछाने थुनामा परेपछि आफूले पदबाट दिएको राजीनामा सार्वजनिक गर्नेविरुद्ध सुमना खनिएकी छन् । पहिले ढाकाकुमार श्रेष्ठ, त्यसपछि मुकुल ढकाल, अहिले सुमना श्रेष्ठ गरी एकपछि अर्को नेता पार्टी नेतृत्वकै विरोधमा लागेपछि रास्वपाको भविष्यलाई लिएर चिन्ता बढेको छ ।
प्रतिक्रिया