काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएको भ्रष्टाचार अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ। उपसमिति संयोजक राजेन्द्र लिङ्देनले सोमबार समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाउँदै लिङ्देनले १४ अर्बको लागत बढाएर २२ अर्ब पुर्याएको र अन्य भ्रष्टाचार भएको बताए ।
प्रतिवेदनले क्यानका महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलसहितका अन्य व्यक्तिमाथि छानबिन गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने ठहर गरेको छ। तर, प्रतिवेदनमा अध्ययन नपुगेको भन्दै एमाले सांसदद्वय गोकुल बास्कोटा र तारा लामा तामाङले फरक मत राखेका छन् । उपसमिति संयोजक लिङ्देनले प्रतिवेदन बुझाउन आयोजना गरेको पत्रकार सम्मेलन सकिएलगत्तै एमाले सांसद बास्कोटाले पत्रकार सम्मेलन गरेका थिए ।
‘‘प्रतिवेदन अधुरो भयो । सबै बैठकमा म सहभागी थिइनँ, एउटा बैठकको भ्रम चलाइएको छ । हस्ताक्षर गरेन भनिएको छ, सही गर्न नै भनिएकै छैन भने कसरी सही हुन्छ,’ उनले भने, ‘सही गर्ने कि नगर्ने भन्ने आफ्नो इच्छाले गर्ने हो । यो अन्तिम निष्कर्ष होइन भन्ने लागेर केहि पनि होइन, छ पनि छ ।’ उपसमिति सांसदहरू बास्कोटासहित राजन दाहाल, अर्जुननरसिंह केसी, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए ।
विमानस्थल निर्माणमा राज्यको अर्बौं रुपैयाँ लगानी भएको, तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृनिकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यो आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो ।
प्रतिक्रिया