काठमाडौं – पूर्वयुवराज पारस शाह र हिमानी शाहका छोरा हृदयेन्द्र शाह यतिबेला चर्चामा छन् । उनलाई चर्चामा ल्याउने काम गरेकी हुन् अभिनेत्री सुरक्षा पन्तले । सञ्चारकर्मी प्रकाश सुवेदीले सञ्चालन गर्दै आएको चर्चित रजतपट कार्यक्रममा सुरक्षाले हृदयेन्द्रबारे बोलेको समाचारले उनी भाइरल भएका हुन् । हुँदाहुँदा हृदयेन्द्रबारे प्रधानमन्त्री केपी ओलीले समेत टिप्पणी गरेका छन् ।
सुरक्षाले हृदयेन्द्रलाई राजा नमान्ने र कला क्षेत्रमा आउन सुझाव दिएपछि यतिबेला सामाजिक सञ्जालमा राजावादीहरुले अभिनेत्री पन्तलाई खेदिरहेका छन् । राजावाद्रीको चर्को खेदाइमा परेपछि सुरक्षा पन्तको पक्षमा सामाजिक सञ्जालदेखि मिडियामा समेत स्ट्यान्ड लिन लागिएको छ । सुरक्षा पन्तले गुड लुकिङ भनेका हृदयेन्द्र अहिले कहाँ के गर्दैछन् भन्ने सबैलाई चासो हुन सक्छ ।
हृदयन्द्र अहिले २२ वर्षका भए । पारस र हिमानीका तीन सन्तानमध्ये कान्छो हृदयेन्द्र अहिले स्नातकोत्तर अध्ययनका लागि मेरिकाको बोस्टनमा छन्। स्नातक सकेपछि उनी नेपालमै फर्किने बताइएको छ । राजनीतिमा खासै चासो नभएका हृदयन्द्र शाहले आफूबारे सामाजिक सञ्जालमा चर्को प्रतित्रिया आउन थालेपछि मुख खोलेका छन् ।
चारैतिर बहसको केन्द्रमा परेपछि उनले सामाजिक सञ्जाल इन्टाग्राममार्फत प्रतिक्रिया दिएका छन्। २८ हजार बढी फलोअर्स भएको उनको इन्टाग्राम अकाउन्ट छ। उनले विभाजनको रेखा कोरिरहेको नेपाली समाजमाथि सामान्य टिप्पणी गरेका छन्। उनले सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार रहेको बताउँदै नेपालीहरूले एक अर्कालाई तल झार्नेभन्दा सहयोग गर्नुपर्ने सन्देश दिएका छन्।
‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ। हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ र सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ। दयालुपन फैलाऔँ। नेपालीहरूले एक(अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्ने। जय नेपाल,’ हृदयेन्द्रले भनेका छन् । उनले लेखेको स्टाटसलाई दिदी पूर्णिकाले सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
प्रतिक्रिया