एनआरएनएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन


काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । एनआरएनएको ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिताबिनै भएको एकता महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष चयन भएका हुन् ।

११ औँ महाधिवेशनमा भएको विवादकै बीचमा एनआरएनएको १०औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो । सोही परमादेशपछि घलेले गराउने एकता महाधिवेशनलाई कांग्रेस र माओवादी निकट एनआरएनएहरुले साथ दिएका थिए । जसअनुसार मध्यपूर्वबाट आरके शर्मा अध्यक्ष पदको सशक्त दाबेदार भए पनि परराष्ट्रमन्त्रीसमेतको दबाबमा महेशलाई सर्वसम्मत अध्यक्ष घोषणा गरिएको स्रोतले बतायो ।

शनिबार एनआरएनएको एकता महाधिवेशन उद्घाटन हुँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेसलाई अध्यक्ष बनाउने भएमात्रै आफू सहभागी हुने अड्डी कसेकी थिइन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार साह, मनोजकुमार श्रेष्ठ, विश्वास लिम्बू र बुद्धिसागर सुवेदी चयन भएका छन् ।

महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । एकता महाधिवेशन भनिएपनि हालसम्म एनआरएनएको आधिकारिकता भने बद्री केसी नेतृत्वको एनआरएनएसँगै छ ।