ओली र प्रचण्डले हात मिलाए, कांग्रेसमाथि एमाले सांसद खनिए


काठमाडौं – केही दिनयता जनस्तरमा देखिने गरी प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिकिएका छन् । उनीहरूबीच आइतबार सिंहदरबारमा संक्रमणकालीन न्यायको बहानामा लामो छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराइएन । सोमबार संसद् भवनमा पनि उनीहरूबीच सौहार्दता देखिएको हो । दुवैले मुस्कुराउँदै हात मिलाए भने कुराकानी पनि गरे । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयलाई लिएर एमाले र कांग्रेसबीच दरार उत्पन्न भइरहेका बेला ओली र प्रचण्डको हात मिलाईलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ ।

कांग्रेसले गभर्नर आफूले पाउनुपर्ने दाबी नछाडेपछि ओली माओवादीतिर ढल्किएको विश्लेषण चलेकै बेला सोमबार प्रतिनिधिसभामा एमाले सांसद सूर्य थापाको अभिव्यक्तिले त्यसलाई थप पुष्टि गरेको छ । एमाले सांसद थापाले सत्ता साझेदार कांग्रेसलाई गठबन्धनमा समस्या भएको भन्ने लागेको भए विघटन गर्न चुनौती दिए ।

दुबै दलको सहमतिमा भएका विषयमा पनि एमालेलाई मात्रै दोषी बनाउन खोजिएको भन्दै संसद्‍बाटै एमालेले कांग्रेसलाई सहमति खारेज गर्न भनेको हो। ‘विमतिमा एउटै काम भएको छैन। तरै पनि अखबारबाजी भएको देख्छु, एमालेकरण भयो’, उनले भने, ‘म सोध्न चाहन्छु, कसरी यसो भयो रु यदि संयन्त्रमा, अभ्यासमा समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर खारेज हुन्छ, विघटन गरे हुन्छ। तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार कसैबाट पनि हुनुहुन्न।’

विद्युत् प्राधिकरण प्रमुखबाट कुलमान घिसिङ र राज्यमन्त्री कान्छाराम तामाङ हटाइएको विषय जोडेर सांसद थापाले यस्तो बताएका हुन्। उनले स्वयं कांग्रेसको प्रतिनिधित्व गर्ने ऊर्जामन्त्री दीपक खड्कको प्रस्तावमा कुलमानलाई हटाइएको भएपनि गाली र दोष प्रधानमन्त्री ओलीमाथि थोपरिएको बताए। ‘विद्युत् प्राधिकरणका एकजना कर्मचारीलाई हटाइयो ।

ऊर्जामन्त्रीले धेरै पटक स्पष्टीकरण सोध्नुभयो, दिनुभएन। पटक–पटक सोध्नुभयो। अन्तिममा हटाउनुभयो । ठिक गर्नुभयो वा बेठिक त्यतातिर बोलिन’, उनले भने, ‘तर ऊर्जमन्त्रीले कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि हुन्न ? गठबन्धन सरकारको अभ्यास कस्तो हुन्छ, हेक्का छैन र ? ऊर्जामन्त्रीको प्रस्तावमा उहाँ (कुलमानं) हट्नुभो। गाली र दोष प्रधानमन्त्रीलाई ?’ यसले पनि कांग्रेससँग एमाले चिढिँदै गएको पुष्टि गर्छ ।