भारत र पाकिस्तानबीच सैन्य तनाव चर्किँदा नेपालको मुख बन्द


काठमाडौं । भारत र पाकिस्तानबीच कश्मीरमा सैन्य तनाव चर्किँदा सार्क अध्यक्ष नेपालले कुनै प्रतिक्रिया जनाएको छैन। पहलगाममा भएको आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित धेरैको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही तीव्र पारेको हो ।

बुधबार बिहान भारतले गरेको नौवटा मिसाइल आक्रमणमा ४२ जनाको मृत्यु र ४६ पाकिस्तानी घाइते भएको भारतीय मिडियाहरुले जनाएका छन् । तर पाकिस्तानी सैनिकले २६ जना मारिएको दाबी गरेको छ । पाकिस्तानले जवाफी आक्रमण गर्दा १० जना भारतीय नागरिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भविष्यमा आणविक युद्धको खतरा देखेर चीन, अमेरिकालगायत राष्ट्रहरूले आआफ्नो धारणाा सार्वजनिक गरिसकेका छन् । तर छिमेकी देश नेपाल भने मौन छ । नेपाल सरकारले अहिलेसम्म औपचारिक ढंगले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । बरु सांसदहरुले बुधबारको संसद् बैठकमा भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयमित र सजग हुनुपर्ने धारणा राखे ।

भारत र पाकिस्तानबीच तनाव बढेपछि केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ। बुधबार दिउँसो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो। मन्त्री लेखकको सचिवालयका अनुसार भारत(पाकिस्तानबीच सुरू भएको तनावलाई लिएर करिब एक घण्टा छलफल भएको हो। छलफलमा त्यसले नेपाललाई पर्ने असरबारे पनि कुराकानी भएको सचिवालय स्रोतले बतायो । त्यस्तै सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता राख्ने, सीमा क्षेत्रमा जाँच कडा पार्ने लगायत विषयमा पनि छलफल भएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडाइका साथ जाँच गर्ने विषयमा छलफल भएको छ । छलफलमा नेपाल प्रहरीका आइजिपी दीपक थापा, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए।