दुई दिनभित्र भट्टको राजीनामा स्वीकृत नभए गभर्नरमा यिनको भाग्य चम्किने


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख २५ गते (बिहीबार) सम्म नेपाल राष्ट्र बैंकको गभर्नर हुने कांग्रेस सभापति शेरबहादुर देउवालाई जवाफ दिएका थिए । तर हिजो बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरसम्बन्धी कुनै निर्णय नै गरेन । यससम्बन्धी एजेन्डा नै लगिएको थिएन ।

एक महिनाभन्दा बढी भइसक्दा पनि गभर्नर नियुक्ति नभएकोमा कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरुको बैठकमा लामो समयदेखि राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकेको विषयमा छलफल भएको थियो ।

कांग्रेस नेताहरुले लामो समयदेखि केन्द्रीय बैंकमा गभर्नर नियुक्त हुन नसकेको भन्दै सभापति देउवासँग प्रश्न गरेका थिए । त्यसक्रममा देउवाले गभर्नरको विषय चाँडै टुंगिने बताएका थिए । ‘राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा छलफल भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘निकै ढिला भएको बारे नेताहरुले सभापतिजूलाई सोध्न भएको हो । सभापतिज्यूले चाँडै टुंगिन्छ भन्नुभयो।’

महतले केन्द्रीय बैंकको नेतृत्व व्यावसायिक व्यक्तिको हातमा जानुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए । ‘राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा जानुपर्‍यो,’ महतले भने, ‘जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अघि बढाउन सकोस् ।’

राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेकाले गभर्नर नियुक्ति प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच शनिबारसम्म भट्टको राजीनामा स्वीकृत नभए दोस्रो व्यक्तिको नाम सिफारिस गर्ने सहमति भएको बुझिएको छ । यदि भट्ट गभर्नर नियुक्त हुन नसके ज्ञानेन्द्र ढुंगानाको भाग्य चम्किने बुझिएको छ ।