दिउँसो रेस्टुरेन्टमा हतियार आक्रमण, तीन घाइते, दुई पक्राउ – एकको अवस्था गम्भीर


चितवन — खैरहनी नगरपालिका-८ स्थित एक खाजा पसलमा मंगलबार दिउँसो हतियारधारी समूहद्वारा गरिएको आक्रमणमा तीन जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने मुख्य आरोपितहरू फरार रहेका छन्।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार दिउँसो साढे १ बजे ‘आहारा क्याफे’ मा धारिलो हतियारसहित ३/४ जनाको समूह प्रवेश गरी आक्रमण गरेको थियो। आक्रमणमा राप्ती नगरपालिका-४ का २८ वर्षीय दिपेन्द्रसिंह गोले गम्भीर घाइते भएका छन्। उनको बायाँ हातको नाडीमा गहिरो चोट लागेको छ। त्यस्तै, राप्ती-२ का २८ वर्षीय गणेश लामाको बायाँ हात र तिघ्रामा चोट लागेका छन् र उनको अवस्था मध्यम रहेको छ। खैरहनी-९ सिमलटाँडीका २७ वर्षीय अमृत आचार्य सामान्य घाइते भएका छन्।

तीनै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गैंडाकोटलगायत क्षेत्रबाट आएका युवाहरूको समूहले खाजा खाइरहेका व्यक्तिहरूमाथि आक्रमण गरी फरार भएका थिए। घटनापछि प्रहरीले दिउँसो ४ बजे राप्ती-४ भवानीपुरका २९ वर्षीय दुई युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।