काठमाडौं । राजधानी काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् ।
नागढुंगा नौबिसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला(भीमढुंगा–धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडकखण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ । यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरुलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयबासीको बाध्यता अन्त्य भएको छ ।
यो सडकबाट देखिने मनमोहक तरकारी फाँट र इँटाभट्टाले पनि यात्रुलाई लोभ्याउने गरेको छ । मोटरसाइकलमा यात्रा गर्ने प्रायःजसो यसको मज्जा लिइरहेका देख्न सकिन्छ । धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा–नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाटै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्णरुपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।

प्रतिक्रिया