नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ पर्ने डरले भागेकी मञ्जु खाँणलाई यति ठूलो जिम्मा


काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ पर्ने डरले लामो समयसम्म ‘भूमिगत’ भएकी कांग्रेस सांसद मञ्जु खाँणले महत्वपूर्ण जिम्मेवारी पाएकी छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानविन गर्न गठित संसदीय उपसमितिको संयोजकमा खाँण चयन भएकी हुन् । संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उक्त उपसमितिले आइतबार खाँणलाई यति ठूलो जिम्मेवारी दिएको हो ।

लेखा समितिले विमानस्थल निर्माणमा भएको अनियमितता छानविन गर्न एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विमानस्थलको स्थलगत अध्ययन गरेर प्रतिवेदनसमेत तयार पारिसकेको अवस्थामा भट्टराईले अघिल्लो साता जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू संयोजक नबन्ने घोषणा गरेका थिए ।

गत आइतबारको लेखा समितिको बैठकमा उनले ‘पूर्वपर्यटनमन्त्री भइसकेको मान्छे उपसमितिको संयोजक बन्न शोभनीय नहुने’ भन्दै भट्टराईले आफू जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका थिए । आइतबार बसेको उपसमितिको बैठकले उनको ठाउँमा खाँणलाई चयन गरेको हो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नीसमेत रहेकी उनी कांग्रेस सांसद र केन्द्रीय सदस्यसमेत हुन् । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीलगायत पक्राउ परेका थिए । श्रीमान्लाई प्रहरीले निवासबाटै पक्राउ गरेपछि मञ्जु सोही दिनदेखि मोबाइल स्विच्ड अफ गरेर भूमिगत बनेकी थिइन् ।

भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा पेस गरेपछि मात्र मञ्जु संसदमा उपस्थित हुन थालेकी थिइन् । अदालतले बालकृष्ण खाँणलाई धरौटीमा छाडिसकेको छ । श्रीमानलाई धरौटीमा छाडेलगत्तै मञ्जु पनि राजनीतिमा सक्रिय हुन थालेकी हुन् । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानबिन गरी प्रतिवेदन तयार गर्नसक्ने ल्याकत मञ्जु खाँणले राख्न सक्नेमा आशंका उब्जिएको छ ।