मन्त्री प्रदीप यादवको विशेष उपस्थिति महालक्ष्मी नगरपालिकामा खानेपानीसम्बन्धी समन्वय बैठक सम्पन्न


महालक्ष्मी – महालक्ष्मी नगरपालिकामा आज नेपाल सरकारका माननीय संघीय खानेपानी मन्त्री श्री प्रदीप यादवज्यूको प्रमुख आतिथ्यतामा खानेपानीसम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकको प्रारम्भमा नगरप्रमुख श्री हरिगोविन्द श्रेष्ठज्यूले मन्त्रीज्यूलाई स्वागत गर्दै नगर क्षेत्रमा खानेपानीको हालको अवस्था, विद्यमान समस्या तथा सम्भावित समाधानका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँले नगरपालिकामा खानेपानी सेवा सुधारका लागि संघीय सरकारसँग थप सहकार्य आवश्यक रहेको बताउनुभयो।

मन्त्री यादवले खानेपानी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै मन्त्रालय सदैव सहयोगका लागि तत्पर रहेको बताउनुभयो। उहाँले दीर्घकालीन समाधानका लागि सबै तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नगर उप–प्रमुख श्रीमती लक्ष्मी महर्जनज्यू, विभिन्न वडाका अध्यक्षज्यूहरू, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) का प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार पौडेलज्यू, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक श्री रामकुमार श्रेष्ठज्यू, तथा अन्य सम्बन्धित कर्मचारीहरू उल्लेखनीय उपस्थितिमा सहभागी भएका थिए।

बैठकमा महालक्ष्मी नगरपालिकामा खानेपानी पूर्वाधारको सुदृढीकरण, सेवा प्रवाहमा सुधार तथा दीर्घकालीन योजना कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सशक्त समन्वय आवश्यक रहेको धारणा प्रस्तुत गरिएको छ।