बाढीपीडितलाई सहयोग गर्दा अख्तियारमा बयान दिनुपरेको चिरिबाबुको खुलासा


काठमाडौँ – ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विकासको काम र विपदमा परेकालाई सहयोग गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकै दुःख दिने गरेको गुनासो गरेका छन् ।

आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा उनले काम गर्न नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन् । उनले कुनै पनि काम गर्दा ऐन, कानुनमा ह्रस्व, दीर्घ मिलेन भने रातोघरमा उभिनुपर्ने अवस्था रहेको बताए ।

२०७८ असारमा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२–२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको उनले खुलासा गरे ।

अख्तियारकै कारण राष्ट्रिय विपद् आइपर्दा पनि छिटोभन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्था रहेको उनको भनाइ छ ।

‘यो मुलुकमा काम गर्न साह्रै अफ्ठ्यारो, साह्रै गाह्रो छ । कुनै पनि काम गर्दा ऐन, कानुनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिन जानुपर्छ । यहाँको खतरापूर्ण कुरा यो छ । मैले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी, पहिरो आयो । यसको मैले निरीक्षण गरेँ । निरीक्षणका क्रममा त्यहाँको मानिसहरुमा एक किसिमको रोईकराइ भयो । देखेँ । त्यसपछि म पनि धेरै दुःखी भएर फर्किएँ । महानगरको मेयर भएको अधिकारबमोजिम मैले उहाँहरुलाई तत्कालै २२–२३ लाख रुपैयाँ सहयोग गरेँ । तर त्यो सहयोग गरेको कुरामा मलाई अहिले पनि अख्तियारमा बयान दिनुपर्छ । अझै टुंगिसकेको छैन । यसैले गर्दा यस्तो किसिमको राष्ट्रिय विपद् आइपर्दा पनि हामीले छिटोभन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने कस्तो विडम्वना यो,’ महर्जनले भने ।