सुरु हुन सकेन प्रतिनिधिसभा बैठक, गृहमन्त्रीको राजीनामापछि मात्रै चल्न दिने विपक्षीको अडान


काठमाडौं – प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, राप्रपालगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएपछि आधा घन्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक ३ बजिसक्दासमेत सुरु हुन सकेको छैन ।

माओवादीका वर्षमान पुन, रास्वपाका शिशिर खनालले आफ्नो धारणा राखेलगत्तै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै सदन अवरोध गरेका थिए ।

प्रतिनिधिसभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाएका थिए । ‘यत्रो प्रश्न उठेपछि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गरेर छानविनको लागि राम्रो वातावरण बनाइदिनुपर्छ’, उनले भने, ‘यो वातावरण नबन्दासम्म संसदको नियमित प्रक्रिया अगाडि लान सकिँदैन ।’

रास्वपाका खनालले पनि गृहमन्त्री लेखकलाई पुरानो मन्तव्य स्मरण गराउँदै राजीनामा माग गरे । सांसदहरूले टेबल ठोकिरहेको बेला उनले भने, ‘उहाँ आफैँले प्रतिपक्षमा हुँदा कुनै मन्त्रीमाथि गम्भीर प्रश्न उठ्दा राजीनामा दिनुपर्ने बताउनुभएको थियो, अहिले उहाँ आफैमाथि गम्भीर प्रश्न उठ्यो, उहाँले तत्काल राजीनामा दिनुपर्छ, नत्र यो संसद अघि बढ्दैन ।’

खनालले गृहमन्त्री लेखक थप केही दिन पदमा बसिरहने हो भने प्रमाणहरु मेटाउन सक्ने भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराए । अब गृहमन्त्रीलाई संसदमा बोल्न नदिइने र प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने विपक्षीहरूको अडान छ ।