हृदयेन्द्रलाई राजा स्वीकार्न ज्ञानेन्द्र शाहलाई कमल थापाको सुझाव


काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब ज्ञानेन्द्र शाह होइन, हृदयेन्द्रलाई राजा बनाएर राजसंस्था पुनःस्थापना गर्नसकिने बताएका छन् । मंगलबार काठमाडौंमा राजावादी समूहले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा उनले हृदयेन्द्र शाहको नाममा सहमति भए पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।

‘हृदयेन्द्रको नाममा सहमति भएमा ज्ञानेन्द्रले पनि त्यसलाई स्वीकार गर्नुपर्छ। राजतन्त्र व्यक्तिको विषय होइन, यो विचार हो,’ थापाले भने, ‘हाम्रो मान्यता पृथ्वीनारायण शाहका उत्तराधिकारी नै राजा हुनुपर्छ भन्ने हो । अहिले व्यक्ति को हुने भन्ने कुरा गौण हो ।’

पूर्वराजा शाहकै लगानीमा राजावादी समूहले राजसंस्था पुनःस्थापनाको आन्दोलन गरिरहेका बेला कमल थापाले हृदयेन्द्रलाई अघि सारेका हुन् । ज्योतिषहरूले हृदयेन्द्रको ग्रह नक्षत्रअनुसार चक्रवर्ती सम्राट लेखिएको भविष्यवाणी गरेपछि राजावादीहरु कतै उनी राजा भइहाल्छन् कि, राजसंस्था फर्किहाल्छन् कि भनेर आन्दोलनमा लागेका छन् ।