काठमाडौं – प्रधानमन्त्ती केपी ओलीले गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म काठमाडौंका सडक नियन्त्रणमा लिन निर्देशन दिएपछि राजावादी कित्तामा भुइँचालो नै गएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण चैत १५ गतेको तीनकुने घटना दोहोरिने भयले राजावादी समूहका नेताहरुले आफूले गर्न लागेको आन्दोलनलाई सुक्ष्म ढंगले निगरानी गरिदिन पत्रकारहरुसँग अपिल गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा, आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले एकै स्वरमा अनुरोध गर्दै सरकार दमनमा उत्रिने तयारीमा रहेको र कार्यकर्ता पनि त्यसैअनुसार उतार्ने तयारी गरेकाले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई नजिकबाट नियालिदिन भनेका छन् ।
‘सरकारले पनि र प्रधानमन्त्रीको आफ्नो दलले नजिकै कार्यकर्ता बोलाएर प्रतिवाद गर्नेजस्ता घोषणा गरेका छन्,’ लिङ्देनले भने, ‘यी सबै विषयमा सञ्चार जगतको ध्यानाकर्षण होस् भन्न चाहन्छौँ । निष्पक्षतासाथ समाचार प्रकाशित होस् भन्न चाहन्छौँ ।’

राप्रपा नेपालका अध्यक्ष थापाले सरकारले आफूहरुमाथि दमन गर्ने तयारी गरेको संकेत गर्दै नजिकबाट शान्तिपूर्ण आन्दोलनको अनुगमन गरिदिन अनुरोध गरे । ‘६२–६३ पछिको राजनीतिक परिवर्तनपछि हामी सबै शक्ति एक ठाउँमा उभिएका छौँ । हाम्रो दलबाहेक ४५ दल तथा समूह आवद्ध रहेका छन्,’ उनले भने, ‘कतिपयलाई लाग्ला एकता कसरी सम्भव भयो । कुन स्वार्थ र कुन प्रेरणाले हामीलाई एक ठाउँमा ल्यायो । विगतमा पानी बाराबारको अवस्थामा यो १८ वर्षमा सर्वाधिक अनुकूल समय बनेको छ । हामीहरुको विचारलाई सधैँको निमित्त समाप्त पार्ने ढंगबाट सरकार र गणतन्त्र पक्षधर दलहरु सक्रिय भए ।’
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै आफूहरुको भद्र अवज्ञा आन्दोलन भड्काउने प्रयास सरकारले गरेको बताए । ‘यो भद्र अवज्ञा आन्दोलन हो । यसमा समस्या आउलाजस्तो मानेर यहाँहरुजस्तो विद्धान पत्रकारहरुसँग सहयोगको अपिल गर्न बसेका हौँ । निहुँ खोज्नेले खोजे । देशको प्रधानमन्त्रीले यसलाई ठेगान लगा भनेपछि जोगाउनका लागि पत्रकारहरुसँग अनुरोध गर्नुपर्छ भनेर पनि उपस्थित भएका हौँ,’
आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले पनि चैत १५ को आन्दोलनअघि प्रधानमन्त्रीबाट अहिलेजस्तै अभिव्यक्ति आएको बताए । उनले नजिकबाट अनुगमन गरेर सत्यतथ्य समाचार सम्प्रेषित गरिदिनुहुन अनुरोध गरे । ‘चैत १५ को केही दिनअघि पनि प्रधानमन्त्रीको यस्तै अभिव्यक्ति आएको थियाे, अहिले पनि आएको हुँदा हामीलाई डर लागेको छ । साक्षीका रुपमा बसिदिनू भनेर यहाँहरुलाई अनुरोध गरेका हौँ,’ उनले भने ।
प्रतिक्रिया