काठमाडौं – सहकारी ठगी आरोपमा मुछिएपछि एक वर्षअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गर्दै माग गरेका थिए । रविले बोल्न माग गरे । रविविरुद्ध प्रहरीमा उजुरी परेको भन्दै कांग्रेसले उनलाई गृहमन्त्री पदबाट मार्गप्रशस्त गर्न आग्रह गरे । त्यही बेला वर्तमान गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । तर कांग्रेसले पछि रविलाई गृहमन्त्रीका हैसियतमा बोल्न दिएको थियो । गठबन्धन नै टुटेपछि रविको गृहमन्त्री पद गुमेको थियो ।
अहिले गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा नाम मुछिएको छ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई जो अध्यागमन विभाग प्रमुख थिए उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि बोलाएपछि गृह मन्त्रालयले उनको तत्काल सरुवा गरेको थियो । यसमा गृहमन्त्री जवाफदेही हुनुपर्ने भन्दै रास्वपा, माओवादीलगायतले उनको राजीनामा माग गर्दै मंगलबारको संसद् अवरुद्ध गरे । आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार बिहानसम्मका लागि रोकिएको छ । विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाइन बनाएपछि मंगलबार संसद बैठक बस्न नसकेको हो ।
सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग अवरुद्ध संसद् खुलाउन छलफल गरे पनि कुनै निष्कर्षमा नपुगेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरेका छन् । रास्वपाले कांग्रेसबाट गृहमन्त्री बनेका लेखकलाई राजीनामा नदिएसम्म बोल्नै नदिने अडान राखेर एक वर्षअघि रविलाई गरेको व्यवहारको बदला लिएको छ । हिजो रास्वपाले कांग्रेसले अभिव्यक्ति स्वतन्त्रता खोसेको भन्दै आलोचना गरेको थियो । आज गृहमन्त्री लेखकले बोल्न खोज्दा रास्वपाले बोल्न दिएन । यसले ‘हिजो सासूको पालो आज बुहारीको’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ ।
प्रतिक्रिया