काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका कर्मचारी भिजिट भिसा प्रकरणमा मुछिएपछि अहिले गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएका छन् । जबर्जस्त रूपमा गृहमन्त्रीले राजीनामा दिएर नैतिकता प्रस्तुत गर्नुपर्ने आवाज उठिरहेको छ । यो विषयमा सत्तारुढ दल कांग्रेस र एमाले एकठ ठाउँमा छन् । माओवादी, रास्वपा र राप्रपा एक ठाउँमा उभिएका छन् ।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिइसकेका छन् । मंगलबारको संसद् बैठकले नेपालको राजनीति कसरी अघि बढ्ने हो भन्ने संकेत गर्छ नै । तर त्यसभन्दा कांग्रेसमा यो विषय पेचिलो बन्ने सम्भावना बढ्दै गएको छ । खासगरी शेखर कोइरालाले गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धान अघि बढाउन सहयोग गर्नुपर्ने भनेपछि उनी पनि आलोचित बनेका छन् ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने शेखरसहित सुनिल शर्मा, राजेन्द्र बजगाईलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव आएको केन्द्रीय सदस्य डा.शशांक कोइरालाले मिडियामा खोलेपछि कांग्रेसमा विवाद भुसको आगो झैं फैलिएको पुष्टि भएको हो ।
सामाजिक सञ्जाल र मिडियाले आरोप लगाएकै भरमा गृहमन्त्रीको राजीनामा मागेको भन्दै शेखरमाथि कांग्रेसभित्र प्रश्न उठेको छ । पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा शेखरलाई स्पष्टीकरण सोध्ने समझदारी बनेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । शेखर भने उपत्यका बाहिर भएका कारण बैठकमा उपस्थित भएका थिएनन् ।
बैठकका निर्णयबारे जानकारी गराउने क्रममा प्रवक्ता डा.प्रकाशरण महतले भने स्पष्टीकरणको विषय खुलाएका थिएनन् । उनले विषयको गहिराइमा नपुगी नेताहरूबाट टिप्पणी भएको बताएका थिए । पूर्वमहामन्त्री शशांक कोइरालाले पनि गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताए । उनले गृहमन्त्रीको राजीनामा माग गर्नेहरूलाई बोलाएर सोध्न सभापति देउवालाई आग्रह गरेको उनले बताए ।
शेखर कांग्रेसको १५औं महाधिवेशनमा सभापतिका उम्मेदवार हुन् । उनी दोस्रोपटक पनि सभापतिमा उठ्ने भन्दै क्याम्पियन गरिरहेका छन् । जिल्ला दौडाहमा लागेका छन् । तर गृहमन्त्री लेखकको घटनाले कोइराला परिवार नै विभाजित बनेको छ । यसले शेखरको चाहनामा ठूलो धक्का लाग्ने निश्चित छ । महाधिवेशनताका यो विषयको तुष बाँकी रहेमा शेखर एक्लिने निश्चित छ । किनकि सभापति देउवासमेत शेखरसँग रिसाएका छन् । शेखरकै गुटका नेताले पनि अफवाह फैलाउँदैमा गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताइरहेका छन् । यसपटक देउवा सभापतिमा उठ्ने छैनन् । उनले जसलाई साथ दियो उसले चुनाव जित्ने पक्का छ ।
प्रतिक्रिया