आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने


काठमाडौँ — राजावादी समूहले बिहीबार शान्तिबाटिकामा आयोजना गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केही समयका लागि मात्र सहभागी हुने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले आन्दोलनमा केहीबेर उपस्थिति जनाएपछि संघीय संसदको बैठकमा सहभागी हुने जनाइएको छ।

संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्र शाहीले आफूहरू आन्दोलन र संसद दुवैमा सक्रिय रहने बताए। उनका अनुसार दिउँसो २ बजे सुरु हुने आन्दोलनमा सहभागी भएपछि सांसदहरू बजेट भाषणका लागि ३ बजे संसद बैठकमा पुग्नेछन्।

‘हाम्रो उपस्थिति आन्दोलन र संसद दुवैतिर रहनेछ। केहीबेर आन्दोलनमा सहभागी भएर बजेट भाषण सुन्न संसद जाँदैछौँ’, शाहीले भने। राप्रपाका प्रतिनिधिसभामा १४ जना सांसद छन्।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, सांसदहरू आन्दोलनमा ३ बजेअघिसम्म सहभागी हुनेछन् भने त्यसपछि संसद जानुपर्ने भएकाले उनीहरू नजाँदा आन्दोलनमा सांसदबाहेकका नेताहरूको उपस्थिति रहनेछ।

राजावादी समूहले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्। आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी र हिन्दुवादी संगठनहरूको संलग्नता रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए।

आन्दोलनका मुख्य मागहरूमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयता खारेज र भ्रष्टाचारको अन्त्य रहेका छन्।