परम्परागत सीपमा आधारित युवा सञ्जालको नेतृत्वमा राज कार्की चयन


काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषदको ‘परम्परागत सीपमा आधारित युवा सञ्जाल’को अध्यक्षमा राज कार्की सर्वसम्मतरूपमा चयन भएका छन्। कार्कीको कार्यकाल अबको दुई वर्ष रहनेछ।

शुक्रबार सानोठीमि स्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा सम्पन्न एक कार्यक्रममार्फत सञ्जालको नयाँ कार्यसमिति गठन गरिएको हो।

नयाँ कार्यसमितिमा अध्यक्ष राज कार्की, उपाध्यक्ष प्रकाश परियार, महिला उपाध्यक्ष हेमा मल्ल, सचिव अनिल नेपाली, सहसचिव उमा मिश्र, कोषाध्यक्ष अमित कुमार दास, सहकोषाध्यक्ष विक्रम लकान्द्री चयन भएका छन्। साथै सदस्यमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वती भट्टराई चयन भएका छन्।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले चयनित सबै सदस्यलाई शुभकामना दिँदै सीपमा आधारित व्यवसायमा संलग्न युवाहरूलाई संगठित भएर आफ्नो क्षेत्रमा क्रियाशील रहन आग्रह गरे। साथै, उनले देशभरिका युवालाई उद्यमशीलता अपनाई समृद्धि र देश विकासमा योगदान पुर्‍याउन आह्वान गरे।

नवनिर्वाचित अध्यक्ष राज कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसम्म आफ्नो आवाज पुर्‍याएको उल्लेख गर्दै परिषदका उपाध्यक्ष बस्नेतप्रति आभार व्यक्त गरे। उनले बिगत सात वर्षदेखि बागबजारमा संचालन गर्दै आएको ‘सुटमाला’ ब्रान्डमार्फत परम्परागत दर्जी व्यवसायलाई आधुनिक, वातावरणमैत्री र नवीन सोचसहित अघि बढाइरहेका छन्।

कार्की दर्जी व्यवसायलाई केवल लुगा सिलाउने पेसा नभई उद्यमशीलता सिकाउने एक स्कुलको रुपमा विकास गर्ने लक्ष्यमा छन्। उनको दृष्टिमा यो व्यवसाय नाफामुखी मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमताको विकास गर्ने माध्यमसमेत हो।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो।