काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध १२ सयभन्दा बढी प्रमाण आफूसँग आइपुगेको दाबी गरेका छन् । मंगलबार संसद् भवन प्रांगणमा सञ्चारकर्मीसँग कुराकानी गदै उनले गृहमन्त्री जोडिएको विषयमा आफूहरूलाई देश विदेशबाट इमेलमार्फत प्रमाणको ठेली आएको दाबी गरेका हुन् ।
‘हामीले माननीय शिशिर खनाल, माननीय सोविता गौतम, मैले र माननीय मनीष झाले सामाजिक सञ्जालमा ‘तपाईँहरू भिजिट भिसामा जाँदै गर्दाको बखतमा कसरी, कुन ठाउँमा, कुन प्रयोजनलाई, कसरी रकम पठाउनुभयो भनेर क्याम्पेन गरेका थियौँ,’ ढकालले भने, ‘त्यसपश्चात् मेरोमा मात्रै १२ सयभन्दा बढी त्यहाँ पैसा बुझाएका प्रमाण आएका छन्। माननीय शिशिरकोमा उस्तै छन्, सोविता जीकोमा उस्तै छ।’
आफूसँग आएका प्रमाणमा भिजिट भिसामा जानका लागि दुई किसिमले रकम बुझाउने गरेको देखिएको पनि उनले बताए। ‘एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ, एउटा दलाललाई बुझाउने रकम हुँदो रहेछ। दलाललाई बुझाउने रकममा पनि पार्सियल्ली कुनै क्यास कुनै बैङ्क रकमान्तर गरिएको छ। र, एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा कारोबार भएको रहेछ,’ उनले भने ।
आफूसँग सम्पर्कमा आएका केही प्रमाणसहितका व्यक्तिहरूले उद्धारको याचना गरेको पनि सांसद ढकालले बताए। ‘यहाँबाट दुबईमा दिदीबहिनी पठाइएको छ, दुबईबाट फेरि कुबेत लगिएको छ। हामीसँग आएको प्रमाणमा ती दिदीबहिनीको भिडिओ पनि आएको छ, उद्धारका लागि आह्वान गरिरहनुभएको छ,’ उनले भने। भिजिट भिसा प्रकरणमा अख्तियारले एयरपोर्टका अध्यागमन प्रमुख तीर्थराज भट्टराईले अनुसन्धानको दायरामा ल्याएपछि गृहमन्त्री लेखक पनि मुछिएका थिए । त्यसपछि रास्वपाले सामाजिक सञ्जालमार्फत प्रमाण उपलब्ध गराउन आह्वान गरेको थियो ।
प्रतिक्रिया