यी हुन् पुल नै बेचेर खाने वडाध्यक्ष


काठमाडौं – नेपालमा सबैभन्दा बढी विवादमा आउनेमा स्थानीय तहका जनप्रतिनिधि पर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्रष्टाचारका मुद्दा धेरै पर्नेमा स्थानीय तह नै पर्छन् । त्यसमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य धेरै छन् ।

हालसम्म झन्डै एक दर्जन स्थानीय तहका प्रमुख उपप्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । त्यस्तै, ज्यान मार्ने उद्योग, बलात्कार जस्ता जघन्य अपराधमा पनि जनप्रतिनिधि मुछिने गरेका छन् । तर सुन्दै अनौठो लाग्ने काभ्रेमा एक जनप्रतिनिधि पुल नै बेचेर खानेमा परेका छन् । ती हुन् रोशी गाउँपालिका–७ का अध्यक्ष अशोक गौतम ।

गत असोज १०–१२ को अविरल वर्षाले रोशी खोलामा पर्ने नमोबुद्ध नगरपालिका वडा नम्वर ६ र रोशी गाउँपालिका वडा नम्वर ७ मा पर्ने थानसिङबेशीमा रहेको फलामको पुल बगायो । बाढीले बगाएर बाँकी रहेको फलामका सामान कवाडीमा बिक्री गर्नेमध्येका एक वडाध्यक्ष गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको हो ।

गौतमले कवाडी ब्यवसायीमार्फत फलामको विक्रीबापतको रकम मोवाइल बैकिङ प्रणालीमार्फत भुक्तानी लिइसकेको ब्यवसायी मन्टु कुमारले प्रहरीलाई बयान दिएका थिए । सोही बयानका आधारमा गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि वडाध्यक्ष गौतमले आफ्नै घर अगाडि रहेको झोलुङ्गे पुल एक लाख ८० हजार रुपैयाँमा बिक्री गरेका थिए । उक्त रकम पनि उनले ब्यक्तिगत रुपमा प्रयोग गरेका छन् । कवाडीमा पुल विक्रीका लागि उनले नमोबुद्ध–६ अध्यक्ष टीकाबहादुर केसीसँग साझेदारी गरेका थिए ।

गौतमले मोबाइल बैंकिङमार्फत भुक्तानी लिए पनि केसीले भने नगदै बुझ्ने भनेका थिए । लोड गर्न बोलाइएका दुईवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीलाई कवाडी ब्यवसायीले वडा कार्यालयको सिफारिस र वडाध्यक्षहरुलाई बुझाएको रकमको प्रमाण देखाएका थिए । सोही प्रमाणका आधारमा प्रहरीले ब्यवसायी र टिपरसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।