यसपालि धेरै पानी पर्छ, बाढी–पहिरोको उच्च जोखिम


काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सामान्यभन्दा धेरै वर्षा हुने अनुमान गरेको छ। विभागको पूर्वानुमान अनुसार वर्षा अधिक हुने भएकाले देशभर बाढी, डुबान र पहिरोजस्ता विपद्‌को जोखिम पनि उच्च हुने देखिन्छ।

नेपालको भौगोलिक विविधता अनुसार विपद्को प्रभाव फरक–फरक हुने विभागले जनाएको छ। पहाडी र हिमाली क्षेत्रमा पहिरो र आकस्मिक बाढीको सम्भावना बढी हुन्छ भने तराईमा डुबान र कटानको जोखिम रहन्छ। शहर क्षेत्रमा भने नाली जाम, खोलाको सतह उचालिनु र जमिनमा पानी नपस्ने संरचनाका कारण डुबान समस्या गम्भीर बन्दै गएको छ।

वर्षायाम सुरु भएसँगै काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढीजस्ता मुख्य शहरहरूमा डुबान, सडकमा पानी जम्ने, फोहोर नालीमा थुनिने समस्या देखिन थालेको छ। नाली सफा नहुनु, फोहोरको अव्यवस्थित व्यवस्थापन, प्लास्टिकजन्य वस्तु सडकमै फाल्नेजस्ता बानीले समस्या झन् चर्किएको विज्ञहरूको भनाइ छ।

शहरको विकासक्रममा खोलाको प्राकृतिक बहाव अवरुद्ध गर्ने संरचना बनाइएका कारण पनि थोरै पानीमा डुबान हुने समस्या बढेको हो। यसका साथै जमिनमा पानी सोसिने ठाउँ नछोडिएकाले जमिनभित्र पानी पसीन सक्दैन।

विभागले बर्खायाममा व्यक्तिगत सतर्कता, पूर्वतयारी र संरचनागत सुधारलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। वर्षा हुँदा घर वरिपरिका भल निकास सफा राख्न, नाली अवरुद्ध हुन नदिन, पहाडमा पहिरोको सम्भावित स्थान चिन्न, तथा खोलामा बगाएर ल्याएका काठदाउरा टिप्न नजान विभागले सुझाव दिएको छ।

यसैगरी गाउँघरमा पनि सामूहिक प्रयासमार्फत भल निकास बनाउने, खोलाको बहाव नछेक्ने, र जोखिम क्षेत्रबाट बस्ती सर्नेजस्ता उपाय अवलम्बन गर्नुपर्ने विज्ञहरू बताउँछन्।

मनसुनसँगै आउने प्राकृतिक जोखिमबाट जोगिन समयमै सतर्कता अपनाउनु नै मुख्य उपाय हो।