पूर्णिमायाको मागअनुसार सर्वोच्चको आदेश, संकटमा अग्नि सापकोटा


काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सर्वोच्च अदालतले पूर्णिमाया लामाले दिएको रिट निवेदनमा १४ वर्षपछि उनको मागअनुसारै आदेश जारी गरेको छ ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।

काभ्रेका लामाको हत्याकाण्डमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने गरी सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको हो ।

माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।

लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्। तर माओवादीको चलखेलले सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ नभएर धकेलिँदै आएको थियो। अब भने यो मुद्दा निरन्तर सुनुवाइ भएर फैसला आउने दिशामा अघि बढेका छ । स्रोतका अनुसार सापकोटा लामाको हत्यामा तानिन सक्ने सम्भावना धेरै छ ।