काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गरेकाले बिहीबारका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन । अहिले कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दल छुट्टाछुट्टै छलफलमा लागेका छन् ।
संसद् बैठक बस्ने तयारी गर्दैगर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको खबर फैलिएपछि संघीय संसद् परिसरमा सांसदहरुमा सनसनी मच्चिएको थियो । बैठक सुरु पनि नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रमुख दलका शीर्ष नेताहरू आपसी छलफलमा जुटेका थिए ।
संसद् भवनको बाहिरपट्टि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव प्रकाश ज्वालालगायतका सांसद परामर्शमा जुटेका थिए । सबैको अनुहार मलिन देखिन्थ्यो ।
संसद नखुल्दा बजेटमाथिको छलफल प्रभावित भइरहेका बेला सांसदहरूलाई नेपालविरुद्धको भ्रष्टाचार मुद्दाले तनाव थपेको स्पष्ट देखिन्थ्यो । नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । यसले अब नीतिगत निर्णय गर्ने उच्चपदस्थ राजनीतिक नेतृत्वविरुद्ध पनि मुद्दा चल्ने नजिर बसालेको छ । सोही कारण पनि नेताहरूको अनुहारको हाँसो गायब भएको हो ।
प्रतिक्रिया