आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुँदा रौतहटमा यस्तो हालतमा थिए माधव नेपाल


काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुँदा गृहनगर रौतहटमा थिए । उनी बिहीबार सडक निरीक्षणमा निस्केका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचार मुद्दा लागेपछि नेपाल आज अपरान्ह ५ बजे सिमरा विमानस्थलबाट काठमाडौं फर्कन लागेका हुन् ।

बुद्ध एयरको विमानस्थलबाट उनी काठमाडौं आउने तय भएको हो । उनी बुधबार रौतहट गएका थिए । उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् । रौतहटमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।’ आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे । ‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ,’ उनले भने ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध १८ करोड ५९ लाख बिगो मागदाबी गरिएको छ ।