काठमाडौं – झन्डै डेढ वर्षको मौनता भंग गर्दै कांग्रेस महामन्त्री गगन थापा र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले संवाद थालेका छन् । कांग्रेस छाडेर रास्वपा प्रवेश गरेपछि वाग्ले र थापाबीच संवाद टुटेको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै रास्वपासहितका विपक्षी दलले संसद् अवरोध गरेपछि कांग्रेसले सदन खुलाउन अग्रसरता लिएको छ । अहिले संसद् भवनको शंकर हलमा कांग्रेस र रास्वपाका नेताहरूको बैठक बसेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।
रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसद्को गतिरोधका विषयमा छलफल भइरहेको बताइएको छ । संसद् भवनमा दुई पक्षबीच संवाद भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सत्तापक्ष कांग्रेस र एमाले भने गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडानमा छन् । संसद्मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले संसद् बैठक सञ्चालन भने हुन दिइरहेका छैनन् ।
प्रतिक्रिया