अब पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रचण्डमाथि खतराको घन्टी


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि राजनीति एकाएक तरंगित भएको छ ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा माधव नेपालसहित पूर्वमन्त्रीद्वय प्रेमबहादुर सिंह र छविराज पन्त विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । भ्रष्टाचार मुद्दा दायर भएसँगैै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ ।

नेपालले आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको निर्देशनमै अख्तियारले मुद्दा अघि बढाएको उनले आरोप लगाएका छन् । ‘उहाँ (ओली) सुरुदेखि नै मेरोविरुद्धमा लाग्नुभयो। मलाई राजनीतिक रूपमा समाप्त पार्ने नियत उहाँको रहँदै आएको हो,’ नेपालले भने, ‘उहाँ बदलाको भावनाले चल्ने मान्छे हो । पहिले पनि यस्ता किसिमका प्रयास उहाँबाट भइसकेका छन्।’

नेपालले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मैले कुनै पनि खराब नियतमार्फत् लाभ लिने, भ्रष्टाचार गर्ने वा त्यसका लागि आदेश दिने काम कहिल्यै गरेको छैन। म आफैं त्यस्ता कुराको विरुद्धमा छु’, उनले काठमाडौं फर्किनुअघि रौतहटमा भने ।

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै संविधान र भ्रष्टाचार निवारण ऐनअनुसार नेपालको सांसद पद स्वतः निलम्बनमा पर्नेछ। ‘अबको यात्रा कस्तो हुन्छ भन्ने प्रश्न स्वाभाविक हो। तर म त्यसको निम्ति जे प्रक्रिया हुन्छ, त्यसको सामना गर्छु’, नेपालले भने ।
नेपालपछि एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टार्गेटमा छन् । स्रोतका अनुसार सर्लाहीको लालबन्दीमा सर्पदंशसम्बन्धी एन्टिभेनम उत्पादन गर्न झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानलाई दिइएको ७० करोड रुपैयाँमा पूर्वप्रधानमन्त्री खनाललाई अनुसन्धानमा तानिने भएको हो । यो मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डविरुद्ध माओवादी लडाकु शिविरमा भएको चार अर्ब भ्रष्टाचारमा फाइल खोलिने तयारी भएको छ । लामो समयदेखि लडाकु शिविर प्रकरण चर्चामा छ । तत्कालीन सरकारले लडाकु शिविरमा पठाएको पैसा प्रचण्डलगायत माओवादी नेताहरुले बाँडचुँड गरेर खाएको आरोप लाग्दै आएको छ ।