काठमाडौं । विपक्षी दलहरूले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा, आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता सत्ता पक्षले गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
छानबिन समिति सुनिश्चितताको बटमलाइनसहित सत्ता पक्षसँग सम्वाद गर्ने जिम्मा प्रमुख सचेतकलाई दिइएको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई सत्ता पक्षसँग सम्वाद गर्ने जिम्मा दिइएको छ ।
सदन खुलाउने विषयमा छलफल गर्न संसद् भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसेको थियो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामामा लचक बन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने विषयलाई बटमलाइन बनाएका छन् । र, त्यसका लागि प्रधानमन्त्रीले संसदमा प्रतिबद्धता जनाउनुपर्ने माग राखेका छन् । विपक्षी दलहरूले संसद् अवरोध गरेकै कारण बजेटमाथिको छलफल प्रभावित बनेको छ ।
प्रतिक्रिया