माधवलाई मुद्दा हालेकोमा प्रचण्ड असन्तुष्ट, अख्तियारले क्षेत्राधिकार नाघेकामा जवाफ दिनुपर्ने माग


काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा चलाइएकोमा असन्तुष्टि जनाएका छन् । उनले शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार नाघेर पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललाई मुद्दा चलाएको भन्दै यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘स्वयं माधवजीले नै आफू आश्चर्यमा परेको बताइसक्नु भएको छ । प्रधानमन्त्रीको पनि राजनीतिक गन्ध आएकै छ । अख्तियारले पनि नीतिगत निर्णयमा अनुसन्धान नहुने, मुद्दा नचल्ने भनी निर्णय गरेको थियो । ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेकै हो । अहिले किन कसरी मन्त्रिपरिषद्को नीतिगत निर्णयमा मुद्दा चलाउने निर्णय गरेको हो, यसबारे अख्तियारले यसमा उत्तर दिनुपर्छ,’ उनले भने ।

प्रचण्डले अदालतप्रति माधव नेपाल र आफ्नो पनि विश्वास भएकाले सफाइ पाउने बताए । अख्तियारको यो निर्णयले अब सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन गर्न सक्ने प्रचण्डको भनाइ थियो । नीतिगत निर्णयमा मुद्दा चलाउने भनेर अख्तियार राजनीतिक प्रतिशोधमा उत्रिएको उनको आशंका छ । यसमा प्रधानमन्त्री केपी ओलीको पनि संलग्नता रहेको प्रचण्डले बताएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनको भरपर्दो प्रतिबद्धता आयो भने सदन खोलेर जान सकिने पनि उनले बताए । शुक्रबार संसद् बैठक नबस्ने र एक दुई दिनभित्र केही निष्कर्षमा पुगिने उनको भनाइ छ । कसरी छानबिन गर्ने भन्नेमा कुनै सहमति भएको छैन । अदालतमा मुद्दा दर्ता नभएसम्म छानबिन गर्न नमिल्ने सत्तापक्षको भनाइ रहेको उनले बताए ।