निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) को कडा चेतावनी


काठमाडौं, जेठ २४ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), उपत्यका विशेष प्रदेश समितिले निजी विद्यालयहरूमा बढ्दो शुल्क, मनोमानी, व्यापारीकरण तथा शिक्षा क्षेत्रमा व्याप्त देखापरेका विसंगति विरुद्ध विरोध जनाएको छ। हालैको शैक्षिक सत्र सुरु हुँदै गर्दा निजी विद्यालयहरूले मनपरी शुल्क संकलन गर्न थालेको भन्दै समितिले कडा चेतावनीसहित प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो।

समितिका अनुसार, “राष्ट्रको कानून नमान्ने शिक्षण संस्थामा विद्यार्थीहरु किन अध्ययन गर्ने ? राष्ट्रको कानून नमान्ने शिक्षण संस्थाले कस्ता विद्यार्थी उत्पादन गर्छन् ?” विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ कि सरकारले बनाएको निर्देशिका नमान्ने विद्यालय संचालकहरुको लुट अब सहने वाला छैन ।

“यदि निर्देशिका नमान्ने हो भए तपाईहरुको विद्यालयभित्र व्यापारीकरण , कालोबजारी , भ्रष्टचार र माफियाकरण भैरहेको भन्ने कुरा बुझ्न गार्हो हुदैन ” विज्ञप्तिमा उल्लेख गरिएको छ।

समितिले शिक्षा मन्त्रालयलाई ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२’ को पूर्ण पालना गराउन आग्रह गर्दै चेतावनी दिएको छ— यदि चाँडै सुधार नभए आन्दोलनका कार्यक्रमहरू घोषणा गरिनेछ।

उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्त्यमा भनिएको छ ,”हाम्रा आग्रहलाई कमजोरीका रुपमा नबुझियोस् यदि त्यसो भएमा सबै किसिमका संघर्षमा जान बाध्य हुनेछौ ।”