कोशी प्रदेशमा १० दिनसम्म ‘होल्ड’ भएर अन्य मुलुकतिर फर्कियो मनसुन


काठमाडौं । कोशी प्रदेशमा १० दिनसम्म ‘होल्ड’ भएर अन्य मुलुकतिर फर्केको छ । जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।
मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको छ ।

पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट तानिएर उता सोहोरिएको मौसमविदको भनाइ छ । कोशीमा आएर अड्केको मनसुनी वायुले वातावरण बनाउँदा त्यहीँ बनेका स्थानीय प्रणालीसँग मिसिएर अहिले पनि हल्कादेखि मध्यम वर्षा गराइरहेको छ । जसकारण आगामी दिन नेपालका मधेश प्रदेशसहित अन्य स्थानमा भीषण वर्षाको प्रक्षेपण गरिएको छ ।


जल तथा पूर्वानुमान विभागले बागमतीसहित तीन ठूला नदीमा बाढी आउने प्रक्षेपण गर्दै सतर्कता अपनाउन आइतबार बुलेटिन जारी गरेको छ ।


यो वर्ष जल तथा मौसम विज्ञान विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । यो वर्ष तापक्रम पनि उच्च रहने प्रक्षेपण विभागले गरेको छ । सुदूरपश्चिम र मध्यक्षेत्रका तराई भू–भागमा गर्मी अधिक बढेको छ । धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियस आसपास अधिकतम तापक्रम पुगेको छ । पूर्वी तराईमा ३६ डिग्री आसपास अधिकतम तापक्रम पुगेको छ ।