११ महिनापछि बुढानिलकण्ठ पुगेका प्रचण्डलाई देउवाले पारिदिए निरास


काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ११ महिनापछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि प्रचण्डले देउवालाई पहिलोपटक घरमै पुगेर भेटेका हुन् ।

प्रचण्डले पटकपटक देउवालाई भेट्न खोजे पनि सम्भव भएको थिएन । दुई नेताबीच फोन संवाद र त्रिपक्षीय भेटवार्ता भने भइरहेको छ । यसअघि डडेल्धुरा पुगेर प्रचण्डले देउवालाई फोन गर्दै नेता जनार्दन शर्मालाई बुढानिलकण्ठ पठाएका थिए । जसले सत्ता गठबन्धनमा सनसनी मच्चिएको थियो । यसपटक भने प्रचण्ड आफैं बुढानिलकण्ठ पुगेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् । दुई सातादेखि अवरुद्ध सदन खुलाउने कसरत भेटवार्तामा भएको सहभागी नेताहरूले बताएका छन् । उनीहरूका अनुसार प्रचण्डले ०६४ यताका सबै गृहमन्त्रीको कार्यकाल छानबिनका लागि समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए भने देउवाले अख्तियारबाट छानबिन भइरहेको अवस्थामा अन्य समिति बनाउन सम्भव नभएको जवाफ दिएका थिए ।

‘विपक्षी दलहरूको म्यान्डेटअनुसार छलफलका लागि आएको छु । हामीले छानबिन समिति गठनको सुनिश्चितता खोजेका छौँ । यसमा सुनिश्चितता भयो भने सदन सञ्चालन हुन्छ,’ प्रचण्डले देउवासँग गरेको प्रस्ताव उद्धृत गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने । तर, देउवाले संवैधानिक निकाय अख्तियारबाटै छानबिन भइरहेको विषयमा अर्को समिति बनाउन सम्भव नहुने जवाफ दिएको उनले बताए ।

१३ जेठदेखि गृहमन्त्री लेखकको राजीनामा मागेर विपक्षी दलले सदन अवरुद्ध गर्दै आएका छन् । संविधानमै १५ जेठमा बजेट ल्याउने कानुनी व्यवस्था भएकाले त्यसका लागि एक दिन सदन चल्न दिएका थिए । हाल बजेटमाथिको छलफलको कार्यसूची रहे पनि प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

विपक्षी दलहरूले सदन अवरोधको विषयमा सत्तारूढ दलसँग छलफल गरेर निर्णय लिने जिम्मा प्रचण्डलाई दिएका छन् । यही जिम्मा लिएर छलफल गर्न प्रचण्ड देउवानिवास पुगेका हुन् । भेटमा प्रचण्डले विपक्षी दलसँग थप सल्लाह गरेर फेरि छलफल गर्ने बताएका छन् । जसअनुसार अहिले विपक्षी दलको बैठक बसिरहेको छ ।