दलाललाई पैसा बुझाएर अमेरिका गएका ४० नेपाली आज काठमाडौं फर्किंदै


काठमाडौं । दलालहरूलाई मोटो रकम बुझाएर अमेरिका पुगेकामध्ये ४० जना नेपाली आज काठमाडौं फर्किदैछन् । अमेरिकाबाट डिपोर्ट गरिएका उनीहरुलाई चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ । नेपालको अध्यागमन कार्यालयका अनुसार ४० जना नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तीमा ४० जनासम्म हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो । अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज काठमाडौं आएर फर्किनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।

अमेरिकी सरकारको सोही नीतिअनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवं अञ्जन न्यौपानेले अवैध रुपमा प्रवेश गरेकाले उनीहरूलाई डिपोर्ट गरिएको बताए । ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै छन् ।