काठमाडौं । विगतमा प्रधानमन्त्री बनेको सय दिन नबित्दै भारतले नेपालको प्रधानमन्त्रीलाई भ्रमणका लाथि बोलाउने गर्दथ्यो । तर अहिलेसम्म प्रधानमन्त्री केपी ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो दिएको छैन । कांग्रेस र एमालेको गठबन्धन बनेको पनि ११ महिना भइसकेको छ ।
नेपालका प्रधानमन्त्रीमध्ये झलनाथ खनाल भारतको औपचारिक भ्रमण नगरी बिदा हुनेमा पर्छन् । यसअघि दुई कार्यकाल प्रधानमन्त्री हुँदा ओलीलाई नयाँ दिल्लीले रातो कार्पेट ओछ्याएको थियो । तर ११ महिनासम्म पनि भ्रमणको निम्तो नआएपछि ओली आफैं चिन्तामा परेका छन् । कथं अहिलेको गठबन्धनमा तलमाथि पर्नेवित्तिकै ओलीको कुर्सी जान्छ । त्यसैले संसदबाट बजेट पारित भएलगत्तै भारत भ्रमणको तयारीमा ओली लागेका छन् ।
त्यसअघि ओली जुनको अन्तमा स्पेन भ्रमणमा जाने भएका छन् । उनी ३० जुनदेखि ३ जुलाईसम्म स्पेनले आयोजना गरेको चौथो संयुक्त राष्ट्र अन्तर्रा्ष्ट्रिय विकास सम्मेलनमा भाग लिन त्यता जानेछन् । परराष्ट्र मन्त्रालयले यसको तयारी थालिसकेको छ । ओली र स्पेनिस सरकारका प्रतिनिधिबीच केही सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावास ओलीको प्रस्तावित भारत भ्रमणको तयारीमा जुटेका छन् । यदि पहलगाममा आतंकवादी हमला नभएको भए ओलीको भारत भ्रमण जुन महिनामै हुने थियो । भारत र पाकिस्तान तनावकै कारण भ्रमण रोकिएको एमाले नेताहरुको भनाइ छ ।
नयाँ दिल्लीले ओलीको भ्रमण हुने संकेत दिएपछि भारतका लागि नेपाली राजदूत शंकर शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव तयारीमा जुटेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीबीच् दुईपटक भेटवार्ता भइसकेको छ । एकपटक अमेरिकाको न्युयोर्क र अर्कोपटक थाइल्यान्डको बैंककमा भेटवार्ता भए पनि भ्रमणको बारेमा कुनै कुराकानी हुन सकेन । सन् २०२० मा नेपालले लिपुलेक, लिम्पियाधुरा, र कालापानीलाई चुच्चे नक्सामा समावेश गरेपछि भारत ओलीसँग रुष्ट बनेको हो ।
प्रतिक्रिया