काठमाडौं – राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका केही जनप्रतिनिधि कार्यालयमा सात घण्टासम्म थुनिएर बसेपछि प्रहरीको सुरक्षा घेराबीच बाहिर निकालिएका छन्। डिएसपी माधव काफ्लेको निर्देशनमा उनीहरूलाई प्रहरी गाडीमा बसी बाहिर ल्याइएको हो।
सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, बाहिर निलम्बित नगरप्रमुख भिमराज यादवका समर्थकहरू आन्दोलनमा थिए र सम्भावित आक्रमणबाट बचाउन सुरक्षा घेरा तोड्न बाध्य भएर उनीहरूलाई बाहिर निकालिएको हो।
कार्यवाहक मेयर इसरत परविनले आर्थिक वर्षको अन्त्यमा उपसचिवको दरबन्दी रहेको नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएको विरोधमा समर्थकहरूले आन्दोलन गरेका छन्।
आन्दोलनकारीहरूका अनुसार, संघीय मामिला मन्त्रालयबाट उपसचिव डा. श्रवणकुमार साहलाई सरुवा गरी, इसरत परविनको सहमतिमा शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने तयारी भइरहेको छ। आन्दोलनकारीहरूले नगरपालिकामा तोडफोड पनि गरेका छन्।
भिमराज यादव नेतृत्वको टोली तीन दिनदेखि नगरपालिकामा तालाबन्दी गरेर आन्दोलनरत छ। ताला फोडेर भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा विवाद थप तातिएको छ।
प्रतिक्रिया