काठमाडौं — पत्रकार दिलभूषण पाठकले आफूले प्रसारण गरेका समाचारकै आधारमा राज्यले बलपूर्वक हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। उनले सञ्चार स्वतन्त्रतामाथि राज्यको यस्तो कदम गम्भीर चुनौती भएको बताउँदै प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघलाई पत्र लेखी हस्तक्षेप रोक्न पहल गर्न आग्रह गरेका छन्।
पाठकले जानकारी तथा सहयोगको अपेक्षा सहित प्रेस काउन्सिल र महासंघलाई इमेलमार्फत पत्र पठाएका हुन्। पत्रमा उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा आफूविरुद्ध उजुरी परेपछि अदालतबाट पक्राउ अनुमति लिएको जानकारी पाए पनि, त्यसबारेमा सम्बन्धित निकायले कुनै जानकारी नदिएको उल्लेख गरेका छन्।
‘यदि प्रसारण सामग्रीप्रति असहमति, गुनासो वा फरक मत छ भने सुरुमा सरोकारवालासँग प्रत्यक्ष सम्पर्क गर्नुपर्छ,’ पाठकले पत्रमा लेखेका छन्, ‘त्यसबाट पनि समाधान नभए प्रेस काउन्सिलमा उजुरी दिने वैधानिक बाटो छ।’
उनले पत्रकारितासम्बन्धी विषयमा प्रेस काउन्सिलको छानबिन अधिकार हुँदाहुँदै विद्युतीय कारोबार ऐन प्रयोग गरी फौजदारी कानुनमार्फत कारबाही गर्ने प्रयास गरिएकोप्रति आपत्ति जनाएका छन्।
‘फौजदारी कानुनमार्फत कारबाही गर्न खोजिएको कुराले गम्भीर आशंका जन्माएको छ,’ पत्रमा भनिएको छ, ‘त्यसमाथि आरोप र उजुरीबारे जानकारी नदिई बलपूर्वक पक्राउ गर्न खोजिनुले यो विषयप्रति थप प्रश्न उठाएको छ।’
प्रतिक्रिया