काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्ने सम्भावना भएको बताएका छन्। उनका अनुसार संसद् सञ्चालनका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति भइसकेको छ र अहिले त्यसकै तयारी भइरहेको छ।
सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा बोल्दै थापाले भने, “संसद् अवरुद्ध हुँदा धेरै महत्त्वपूर्ण विषयहरू थाती परेका छन्। हामी जनताको सेवा गर्न आएको हो, त्यसैले अब काममा लाग्नैपर्छ। संसद् आजैदेखि सुचारु हुन्छ भन्नेमा हामी विश्वस्त छौं।”
महामन्त्री थापा तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका थिए। सोही अवसरमा कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको संगठन संवाद कार्यक्रममा उनले संसद्ले अब गति लिने स्पष्ट संकेत दिए।
उनले आगामी केहीबेरमै संसद् पुनः सञ्चालनमा आएकोबारे भिडियो सन्देशमार्फत जानकारी दिने जनाउँदै, देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक संकेत देखिएको उल्लेख गरे। साथै, नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य र जनताको अपेक्षाअनुसार कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याए।
प्रतिक्रिया